हुम्ला— बाजुरा सीमा विवादका कारण कर्णाली करिडोर फेरि बन्द गरिएको छ। जेठ ५ गते च्याचौरमा भएको झडपसँग सम्बन्धित विषयलाई लिएर बाजुरातर्फका युवाहरूले कर्णाली करिडोरअन्तर्गत पिलुचौर–कुवाडी सडकखण्ड पुनः अवरुद्ध गरेका हुन्।
स्थानीय स्रोतका अनुसार लाम्पाटा–च्याचौर क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गर्न लागेको प्रहरी चौकीको विषयमा विवाद उत्पन्न भई झडप भएको थियो। सो घटनामा घाइते भएकाहरूको उपचार, घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही, तथा क्षतिपूर्ति लगायतका माग राख्दै हिमाली युवा समूहले जेठ ७ र ८ गते सडकमा टायर बालेर प्रदर्शनसहित आवागमन ठप्प पारेका थिए।
सडक बन्द हुँदा हुम्ला, मुगु तथा कैलाश मानसरोवरतर्फ जाने यात्रुहरू अलपत्र परेका थिए भने स्थानीय व्यवसायसमेत प्रभावित भएको थियो।
यसअघि जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा २४ घण्टाका लागि बन्द खुलाइएको थियो। तर सहमति अनुसारका मागहरू पूरा नभएको भन्दै आइतबारदेखि पुनः अनिश्चितकालीन बन्द घोषणा गरिएको छ।
आन्दोलनकारीहरूले सर्जमिन मुचुल्का तयार गर्ने, दोषीलाई कानुनी दायरामा ल्याउने, घाइतेहरूको उपचार खर्च बेहोर्ने, विस्थापित परिवारको पुनःस्थापना र सुरक्षा सुनिश्चित गर्ने तथा प्रहरी चौकी निर्माण प्रक्रिया अघि बढाउने जस्ता माग अघि सारेका छन्।
उता हुम्ला जिल्ला प्रशासन कार्यालयले भने समस्या समाधानका लागि सर्वदलीय तथा सर्वपक्षीय बैठक जारी रहेको जनाएको छ।






































