काठमाडौं— प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदहरूको अवरोधपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

आजको बैठकमा पनि प्रधानमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए ।

नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीका सांसदले उठेर विरोध जनाएका हुन् । विपक्षी दलहरूलाई सभामुख अर्यालले समय दिएका थिए ।