काठमाडौं— स्वतन्त्र सांसद महाविर पुनले ट्याक्सी व्यवसायमा देखिएको कर र ‘कालो प्लेट’ प्रणालीमा चलखेल भएको आरोप लगाउँदै त्यसलाई तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले ट्याक्सी चालकहरू श्रमिक वर्गका नागरिक भएकाले उनीहरूलाई अनावश्यक आर्थिक भार थोपारिएको बताए । उनले ट्याक्सी चालकहरूले परिवार पाल्नका लागि ट्याक्सी व्यवसाय गरिरहेको उल्लेख गर्दै सरकारले ट्याक्सी खरिदमा २५० देखि ३०० प्रतिशतसम्म कर लगाएको दाबी गरे ।

उनले भने, ‘म ट्याक्सी चालकहरुको कुरा राख्न चाहन्छु । जसले ट्याक्सी चलाइरहेको छ उनीहरु भनेको श्रमिक नै हो । उनीहरुले आफ्नो परिवार पाल्न ट्याक्सी व्यवसाय गरेको हो । ट्याक्सीमा हिड्दा मैले के थाहा पाए भने एउटा ट्याक्सी ट्याक्सी किन्नको लागि सरकारले २५० देखि ३०० प्रतिशत कर लगाएको छ ।’

सांसद पुनका अनुसार ट्याक्सी किन्दा लाग्ने कर बाहेक ‘कालो प्लेट’ अर्थात् ट्याक्सी लाइसेन्स प्लेट लिनकै लागि करिब १५ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको छ । ‘ट्याक्सी चालकहरुलाई अझै कर के थप रहेछ भने त्यो ट्याक्सीको लाइन्सेन्स प्लेट लिनको लागि १५ लाख रुपैयाँ कालो प्लेट लिनको लागि त्यसमा ट्याक्सीको पैसा त छुट्टै भयो । कालो प्लेट लिनको लागि १५ लाख लाग्ने रहेछ । यसमा चलखेलको कुरा छ ,’ उनले भने ।

उनले उक्त व्यवस्थामा चलखेल र सिण्डिकेट रहेको आरोप लगाउँदै सरकारलाई यसबारे गम्भीर अध्ययन गर्न आग्रह गरे । ‘यसमा चलखेलको कुरा छ, सिण्डिकेटको कुरा छ । त्यसैले यो चलखेललाई बुझेर तुरुन्त खारेज गरियोस्,’ उनले भने । सांसद पुनले ट्याक्सी चालकहरूलाई सहज वातावरणमा व्यवसाय सञ्चालन गर्न नीतिगत सुधार आवश्यक रहेको समेत बताए ।