बाजुरा— हुम्ला सीमा विवादका कारण साइपाल हिमालको रानीसैन बेसक्याम्पतर्फ गएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली बीचमै फर्किएको छ।
‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत पर्यटन प्रवर्द्धनका लागि गएको टोलीलाई हिमाली गाउँपालिका–३ को लाम्पाटामा स्थानीय आक्रोशित समूहले अवरोध गर्दै ढुंगामुढा गरेको थियो। घटनापछि जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरू भागेर ज्यान जोगाउन बाध्य भएका थिए।
स्थानीयका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले लाम्पाटा क्षेत्र आफ्नो भएको दाबी गर्दै विरोध जनाएका हुन्। प्रदेश सरकारले उक्त क्षेत्रमा प्रहरी चौकी निर्माणका लागि बजेट विनियोजन गरेपछि विवाद थप चर्किएको बताइएको छ।
घटनामा हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ र उनकी श्रीमतीमाथि कुटपिट भएको छ। स्थानीयले घर कब्जा र लुटपाटसमेत गरेको आरोप लागेको छ।
मेयर हमालले सीमा विवादबारे पूर्वजानकारी नपाएको बताएका छन्। उनले कुटपिटको घटना थाहा पाएपछि टोली माथितिर नबढेको र सुरक्षाका लागि फर्किएको जानकारी दिएका छन्।
घटनापछि घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ भने सुरक्षा निकायले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।






































