काठमाडौं— प्रदेश सरकार चलाईरहेको कांग्रेस-एमाले गठबन्धन सरकारको नेतृत्व बदल्न दौडधुप गर्न थालेका छन्। कांग्रेस र एमालेभित्रका नेता र संसदहरुको दबाब बढ्दै गएपछि पार्टी नेतृत्व प्रदेशमा फेरि आलोपालो सरकार सञ्चालनको दौडमा जुटेका हुन् ।

कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा आफैं प्रदेश सरकारको नेतृत्व बदल्न कस्सिएका छन् । प्रदेशमा सरकार फेरबदलकै विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका शीर्ष नेताहरूबीच पटक–पटक संवाद भइसकेको छ ।

कांग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत ओलीलाई भेटेका छन् । थापा गत आइतबार मात्र ओलीलाई भेट्न उनकै निवास गुन्डु पुगेका थिए । भेटमा संविधान निर्माणका शक्तिहरू एकठाउँमा रहेर जाने र प्रदेश सरकारमा सहकार्य गर्नेबारे छलफल भएको ओलीनिकट एक नेताले जानकारी दिए ।

शर्माले भने मंगलबार गुन्डु पुगेर दोस्रो पटक एमाले अध्यक्ष ओलीसँग भेटेका थिए । त्यसअघि वैशाख २९ गते पनि उनी सहमहामन्त्री उदशमशेर राणालाई लिएर ओलीलाई भेट्न पुगेका थिए । एमालेका नेताहरु समेत आलोपालो नेतृत्व गर्न सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नु पर्ने पक्षमा लविङ गरिरहेका छन् ।

सात प्रदेशमध्ये ४ मा कांग्रेस र ३ मा एमालेको नेतृत्व छ । साढे ५ महिनाअगाडि मात्रै पुनर्गठन भएको मधेश प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी ६ प्रदेशमा नेतृत्व अदलबदल गर्ने दुई दलबीच समझदारी भइसकेको छ । बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार छ । कोशी, लुम्बिनी र कर्णालीमा भने एमालेको सरकार छ ।

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयले सांसदहरूलाई दिउँसो १ बजे विश्वासको मत लिने कार्यक्रम रहेको सूचना पठाइसकेको छ । एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसलाई विश्वासको मत दिने विषयमा छलफल चलिरहेको बताए ।