काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा चर्किएको भिजिट भिसा प्रकरणमा अर्को मुद्दा चलाएको छ।
भिजिट भिसा सेटिङ गरी युवाहरूबाट लाखौँ घुस लिएर भ्रष्टाचार गरेको भनिएको मुद्दामा डीएमसी ट्राभल प्रालिका तत्कालीन मार्केटिङ अफिसर दीपक थापाविरुद्ध आरोपपत्र दायर गरिएको हो।
आयोगले मंगलबार विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार थापाले पहिले सरकारी साक्षीका रूपमा बयान दिएका थिए । तर विशेष अदालतमा बकपत्र गर्दा आयोगमा दिएको बयानको प्रतिकूल उभिएपछि भ्रष्टाचार मुद्दा चलाइएको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले यसबारे मंगलबार जानकारी दिइएको छ।
आयोगको अनुसन्धान अनुसार स्याङ्जाको फेदीखोला गाउँपालिका–३ स्थायी घर भई पोखरास्थित डीएमसी ट्राभल्स प्रालिका तत्कालीन मार्केटिङ अफिसर थापाले भिजिट भिसामा मानिस विदेश पठाउने क्रममा सेटिङ गरेको, एयरपोर्ट अध्यागमनमा यात्रु प्रस्थान हुनुअघि नाम टिपाउने गरेको, होटल बुकिङ र डलर सटही आफ्नै कम्पनीबाट गर्ने गरेको पुष्टि भएको छ।






































