काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्ण कुमार कार्की विरुद्ध उठेको विवाद प्रतिनिधि सभासम्म पुगेको छ।
मंगलबार बसेको संसद बैठकमा नेकपा (एमाले) की सांसद पार्वती विकले सामाजिक सञ्जालमा चर्चामा रहेको आरोपबारे सरकारको ध्यानाकर्षण गराउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरिन्।
सांसद कार्कीमाथि एक नाइजेरियाली महिलालाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप लागेपछि विषयले राजनीतिक तरंग पैदा गरेको हो। संसदमा बोल्दै विकले यस्ता घटनाले नेपाल र नेपालीको अन्तर्राष्ट्रिय छविमा असर पुग्ने बताइन्। उनले निष्पक्ष छानबिन गरी आरोप पुष्टि भए कानुनी तथा संसदीय कारबाही गर्न सरकारसँग माग गरिन्।
यस्तै, निनुकुमारी कर्णले पनि घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै विदेशी महिलालाई प्रेम सम्बन्धमा फसाएर समस्यामा पार्ने व्यक्तिले नागरिकको सुरक्षा र जिम्मेवारी कसरी वहन गर्न सक्छ भन्ने प्रश्न उठाइन्।
उनले पीडित भनिएकी महिलाले न्याय पाउनुपर्ने र सरकारले घटनाबारे स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याइन्।






































