काठमाडौं— नेपाली कांग्रेसका सांसद निस्कल राईले गत वर्ष इलाममा गएको विनाशकारी बाढीपहिरोको पुनर्निर्माणमा सरकारले अत्यन्तै न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पुनः अर्को विपद्को मौसम सुरु हुन लागेकाले तत्काल पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराए ।

११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएकोमा सरकारले जम्मा ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको भन्दै पुनर्निर्माणको काम सुस्त गति र न्यून बजेटप्रति असन्तुष्टि जनाए ।

उनले भने,‘विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । तर, सरकारले अहिलेसम्म जम्मा ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ । त्यो विनियोजित रकमबाहेक हालसम्म के–कति प्रगति भइरहेको छ भन्नेबारे कुनै जानकारी छैन । अब पुनः विपद्को मौसम सुरु हुँदैछ । विस्थापितहरूको सुरक्षित आवास र विपद्को पूर्वतयारीका कार्यहरू सरकारले अभिलम्ब अगाडि बढाओस् भन्ने जोडदार माग गर्दछु।’