काठमाडौं— काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोरक्कोका एक नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय युसेफ इसैदी रहेका छन्। उनी इन्डिगो एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट मुम्बई जान लागेका बेला विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रबाट पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनीसँग मोरक्कोको राहदानीसँगै स्वीट्जरल्यान्डको अर्को राहदानी पनि फेला परेको थियो। दुई फरक देशका राहदानी भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।






































