काठमाडौं— काठमाडौंको बल्खु क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाइएपछि त्यहाँका बसोबास गर्ने धेरै परिवार अहिले अस्थायी बसोबासमा छन्। घर भत्काइए पनि उनीहरू दैनिकजसो पुरानो बस्ती क्षेत्रमा फर्किने गरेका छन्। विशेषगरी विहान खाना खाइसकेपछि आफ्नो भत्किएको घरबाट बाँकी रहेका सामान, काठ, टिनका उपयोगी सामग्री निकाल्न स्थानीयहरू आउने गर्दछन्।
स्थानीयका अनुसार डोजर चलेपछि धेरैको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। हतारमा स्थान खाली गर्नुपर्दा महत्वपूर्ण सामान समेत छुटेको उनीहरूको गुनासो छ। त्यसैले अहिले पनि दिनहुँजसो परिवारका सदस्यहरू भत्किएको ठाउँमा पुगेर बाँकी सामान संकलन गरिरहेका देखिन्छन्।
एक स्थानीयले रामले भने, “घर त भत्कियो, तर जीवन चलाउन सामान चाहिन्छ। जे बाँकी छ, त्यही निकाल्न आउँछौँ।”
बस्ती हटाइएपछि कतिपय परिवार आफन्तको घरमा तथा कतिपयले अस्थायी टहरा बनाएर बस्न थालेका छन्। बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरू सबैभन्दा बढी प्रभावित बनेका छन्। स्थानीयहरूले वैकल्पिक व्यवस्थाविना बस्ती हटाउँदा आफूहरू समस्यामा परेको बताएका छन्।
यता सम्बन्धित निकायले भने सार्वजनिक जग्गा संरक्षण र नदी किनार व्यवस्थापनका लागि बस्ती हटाइएको जनाएको छ। तर प्रभावित परिवारहरूले पुनःस्थापना र सुरक्षित आवासको माग गरिरहेका छन्।






































