जनकपुर— धनुषाका मिटरब्याज पीडितहरुले अनिश्चितकालिन आन्दोलन सुरु गरेका छन् । विभिन्न मागहरु राख्दै उनीहरुले आइतबार जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
केही दिन अघि धनुषाको फुलगामा ४ की मिटरब्याज पीडित सुनिता साहलाई प्रहरीले उल्टै पक्राउ गरी पिडा माथि झन पिडा थपेको भन्दै आफूहरुले प्रहरी प्रशासनविरुद्ध अनिश्चितकालिन आन्दोलन सुरु गरेको मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषा जिल्ला अध्यक्ष सम्भु प्रसाद यादवले जानकारी दिए ।
मिटरब्यजीहरुलाई कारबाही गर्नुको साटो प्रहरीले उल्टै पीडितहरुलाई समातेर जेल पठाउने गरेको घटनाहरु अगाडि आउन थालेपछि आफूहरुले बाध्य भएर आजदेखि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र सरकारी वकिल कार्यालय अगाडि प्रत्येक दिन शान्तिपूर्ण धर्ना र विरोध गर्ने अध्यक्ष यादवले बताए ।
अध्यक्ष यादवले राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको प्रादेशिक भेलामा मधेश प्रदेशमा विद्यमान मिटरब्याजको समस्या समाधान गर्ने घोषणा गरेकोमा हालसम्म कुनै समाधानतर्फ सरकारले ध्यान नदिएको अध्यक्ष यादवले गुनासो गरे ।






































