काठमाडौं—  नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले क्षणिक लाभ–हानिको आधारमा निर्णय गर्न नहुने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति नहुने स्पष्ट पारे ।

उनले नेपाली कांग्रेस चुनाव जित्दा, हार्दा वा चुनावमा सहभागी नभए पनि राष्ट्रिय शक्ति नै रहने उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा उठ्ने विषयमा प्रतिक्रिया दिनेभन्दा दिशा निर्देशन दिने क्षमता पार्टीले राख्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टी एउटा राष्ट्रिय शक्ति हो । राष्ट्रिय पार्टी हो की होइन भन्ने कुरा चुनावको नतिजाले मापन हुने कानुनी व्यवस्था छ । तर मेरो लागि नेपाली कांग्रेस पार्टी निर्वाचन जित्दा, हार्दा र नलड्दा पनि राष्ट्रिय शक्ति नै हो । राष्ट्रिय शक्ति भएकोले यसले हेडलाइनमा के निस्क्यो भनेर त्यसलाई पछ्याउँदै हिड्ने होइन । क्षणिक लाभ र हानीको कुराबाट प्रभावित भएर आफ्ना निर्णयहरु पनि गर्ने होइन र सटकटहरु खोज्ने पनि होइन । राष्ट्रिय राजनीतिमा उठेका कुराहरुमा प्रतिक्रिया व्यक्त गर्ने होइन डिरेक्शन दिने हो, त्यो सामथ्र्य राख्नुपर्छ ।’

थापाले निर्वाचित सरकारसँग शक्ति हुने भए पनि संविधानले त्यसको सीमा निर्धारण गरेको उल्लेख गरे । उनले सरकारलाई कानुन बनाउने अधिकार भए पनि के विषयमा र कुन उद्देश्यका लागि कानुन बनाउने भन्ने कुरा संविधानले परिभाषित गरिसकेको बताए ।

उनले भने, ‘चुनावबाट जितेर आएको सरकासँग शक्ति हुन्छ तर त्यो शक्तिको पनि सीमा हुन्छ । संविधानले सीमाहरु कोरिदिएको हुन्छ । कानुन बनाउन पाउने उसको अधिकार हुन्छ तर कानुन पनि के मा बनाउने र के का लागि बनाउने भन्ने कुरा पनि परिभाषित भएको हुन्छ ।’

साथै उनले कांग्रेसलाई समाजमुखी बनाउँदै पार्टीलाई संगठनभित्र मात्र सीमित नराख्ने बताए । उनले पार्टीलाई समाजको सेवामा केन्द्रित गर्न चाहेको बताए । उनले पार्टीभित्रका आन्तरिक विषयहरू पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसमा समेत काम गरिने स्पष्ट पारे ।