काठमाडौं— खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले माउन्टेन ड्युको एक ब्याचको बिक्री वितरण रोक्न निर्देशन दिएको छ। काठमाडौंको पेप्सीकोलास्थित वरुण बेभरेज (नेपाल) प्रालि द्वारा उत्पादन गरिएको ब्याच नम्बर १६८ मा समस्या देखिएको आशंकापछि विभागले यस्तो निर्णय गरेको हो।

तारकेश्वर नगरपालिका निवासी एक उपभोक्ताले माउन्टेन ड्यु सेवन गरेपछि बान्ता भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विभागको द्रुत प्रतिकार्य टोलीले उद्योगमा आकस्मिक निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा उपभोक्ताले सेवन गरेको २५० मिलिलिटर प्याक (उत्पादन मिति ०३/०४/२६०) मध्ये उद्योगको गोदाममा एउटा क्रेट मात्र फेला परेको र बाँकी बजारमा पठाइसकिएको जानकारी विभागले दिएको छ।

विभागकी निर्देशक डा. बालकुमारी शर्माका अनुसार सम्बन्धित उद्योगलाई उक्त ब्याचमा प्रयोग भएका कच्चा पदार्थको विवरण र खाद्य स्वच्छतासम्बन्धी अभिलेख पाँच दिनभित्र पेश गर्न निर्देशन दिइएको छ। साथै, प्रयोगशालाको परीक्षण प्रतिवेदन नआएसम्म उक्त ब्याचका पेय पदार्थ बिक्री नगर्न उद्योग र डिलरलाई सचेत गराइएको छ।

विभागले शंकास्पद उत्पादनको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइसकेको जनाएको छ। कच्चा पदार्थको उपभोग्य मिति बाँकी रहे पनि अन्तिम गुणस्तर परीक्षण रिपोर्टपछि मात्रै उत्पादन सुरक्षित वा असुरक्षित भन्ने यकिन हुने विभागले स्पष्ट पारेको छ।

यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा दुई व्यवसायिक फर्मलाई जरिबाना गरेको छ। सुन्धारास्थित बोस सुज इन्डस्ट्रिज प्रालि लाई ५० हजार रुपैयाँ र धापासीस्थित केआर इन्टरप्राइजेजलाई पाँच हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।

केआर इन्टरप्राइजेजले सामान बिक्री गर्दा बिलबिजक नदिएको पाइएपछि कारबाही गरिएको हो। विभागले अन्य ३२ वटा फर्मलाई सुधार गर्न निर्देशन दिएको छ। बजारमा मूल्य पारदर्शिता कायम गर्ने उद्देश्यसहित वैशाख २८ देखि जेठ ३ गतेसम्म ‘मूल्य पारदर्शिता सप्ताह’ सञ्चालन भइरहेको विभागले जनाएको छ।