काठमाडौं— नेपाल–चीन उत्तरी सीमास्थित कोरला नाका (लोमान्थाङ-१, छोसेर न्हेचुङ) बाट मुस्ताङ भन्सार कार्यालयले शनिबार ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। भन्सार छलेर शङ्कास्पद रूपमा भित्र्याइएका दुई वटा मालवाहक कन्टेनरको खानतलासी गर्दा ५९२ कार्टुन भेप फेला परेको हो।

भन्सार कार्यालयका अनुसार एक कार्टुनमा २२० वटाका दरले दुवै कन्टेनरमा गरी करिब १ लाख २० हजार थानभन्दा बढी विद्युतीय चुरोट (भेप) रहेका छन्।

दुई दिनअघि चिनियाँ भन्सारबाट सामान लोड गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरका कन्टेनरहरू शनिबार साँझसम्म कोरला नाकामै रोकिएका थिए। शनिबार सार्वजनिक बिदा परेको र भन्सारका कर्मचारीहरू लोमान्थाङमा चलिरहेको ऐतिहासिक तिजी पर्व हेर्न गएको मौका छोपेर तस्करहरूले ती कन्टेनर अगाडि बढाएका थिए।

कर्मचारी नभएको बेला भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा गोप्य सूचनाका आधारमा भन्सार कार्यालय र सुरक्षा निकायको टोलीले ती कन्टेनरहरूलाई नियन्त्रणमा लिएको हो।

अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा कन्टेनर चालकद्वय सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।

स्रोतका अनुसार बरामद गरिएका यी कन्टेनरहरू नेपाल–चीन कोरला नाकाको २४ नम्बर सीमास्तम्भ नजिक दुई दिनसम्म शङ्कास्पद रूपमा रोकिएका थिए। चिनियाँ भन्सारबाट सामान पास भएर नेपाल भित्रिए पनि कन्टेनरहरू तल नझरेपछि भन्सार टोलीले कडा निगरानी बढाएको थियो। अवैध रूपमा भेप ओसारपसार गर्ने गिरोहले प्रहरी र सशस्त्र प्रहरीलाई झुक्याउन नक्कली कागजातसमेत तयार पारेर राखेको बुझिएको छ।

हाल स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको रोहवरमा बरामद भेपको यकिन परिमाण र अनुमानित मूल्य निर्धारणका लागि भन्सार मुचुल्का उठाउने तयारी भइरहेको छ।

कोरला नाकाबाट ठूलो परिमाणमा भेप तस्करी भएको यो पहिलो घटना भने होइन। यसअघि चालु आर्थिक वर्षकै पुस ९ गते पनि यसै नाकाबाट २ करोड २४ लाख रुपैयाँ बराबरको १६ हजार थान भेप बरामद गरिएको थियो। त्यस्तै, गत वर्ष पनि भन्सार र सुरक्षा निकायको संयुक्त टोलीले ६ करोड ८१ लाख रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट बरामद गरेको थियो। पछिल्लो समय यो नाका अवैध डिजिटल चुरोट तस्करीको मुख्य ट्रान्जिट बन्न थालेको यी घटनाहरूले देखाउँछन्।