काठमाडौं— पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताएकी छन् ।

आइतबार बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पु¥याएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘मदन भण्डारी र जीवराज आश्रित नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र होइन् वैचारिक स्पष्टता र जनमुखी राजनीति संस्कार नयाँ चरणमा पु¥याएको थियो । उनीहरूले राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय हो । जनताले विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई अझ गहिरोसँग विस्थापित गर्नुभयो ।’

उनले राजनीति जनताको जीवनसँग जोडिएको विषय भएको भन्दै जनताको विश्वासबाट निर्देशित हुनुपर्ने मान्यतालाई मदन भण्डारी र जीवराज आश्रितले अझ गहिरो बनाएको बताइन् ।

भण्डारीले एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवाद नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार रहेको उल्लेख गर्दै यसलाई नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको बताइन् ।