सुर्खेत— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताएका छन् । सरकारका गतिविधीले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उनले बताए ।

कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत पुगेका प्रचण्डले आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सरकारका क्रियाकलापहरु लोकतान्त्रिक नभएको टिप्पणी गरे । आफैंले बोलाएको सदन भोलिपल्ट रोकेर अध्यादेश ल्याएर सरकारले लोकतन्त्रको उपहास गरेको प्रचण्डको भनाई छ ।

‘नेपालको सन्दर्भमा हालसम्म नभएको अभ्यास वर्तमान सरकारले गरेको छ’ उनले भने, ‘त्यसले लोकतन्त्रको उपहास गरेको बुद्धिजीवी र आम नेपालीको बुझाई रहेको तपाईहरुले बुझिरहनु भएकै छ ।’

ट्रेड युनियनको खारेजी, विद्यार्थी संगठनहरुको प्रतिबन्ध लगायतका बिषयहरुले सरकार लोकतान्त्रिक बाटोमा छैन भन्ने देखाएको उनको धारणा थियो ।

सरकारले गर्ने लोकतान्त्रिक कार्यहरुमा आफ्नो पार्टीले समर्थन र जनविरोधी क्रियाकलापहरुमा खवरदारी गर्ने उनले बताए । अध्यादेश ल्याउनेदेखि सबै हिसाबले वर्तमान बालेन शाहको नियत राम्रो नदेखिएको प्रचण्डको भनाइ छ ।

सरकारका नागरिक अधिकार विरोधी क्रियाकलापहरुले समर्थन गर्न सकिने अवस्था नरहेको उनले बताए ।