काठमाडौं—  काठमाडौं महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ । गएको शुक्रबारबाट सुरु भएको मेला ७ दिनसम्म चल्नेछ । प्रशिक्षणमा १२५ जना स्थानीय बासी सहभागी छन् ।

तालिममा वारिस्ता, वेकरी, सेल्फ मेक अप, नेल आर्ट र रेडिमेड साडी तयारी सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । स्थानीय बासीमा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगार मूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विधाहरू छानिएको वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिए ।

‘गएको वर्ष परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमुना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद् व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउनेसहितका तालिम सञ्चालन गरेका थियौँ । डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने लगायत तालिम सञ्चालन गरेका थियौँ,’ महर्जनले भने ।

स्थानीय गृहिणीहरू आफूले गर्नु पर्ने खर्च घटाउन सक्नुभयो भने पनि हाम्रा लागि उपलब्धि हुनेछ । वडा सदस्य हेरा शोभा डंगोल महर्जनले पार्लरमा गर्नुपर्ने खर्च घटाउनु पनि आय नै भएको प्रतिक्रिया दिए ।