सर्लाही— यहाँको मलंगवा नगरपालिका–१० मा घरको छत प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ ।

बुधबार साँझ करिब ४ः४५ बजे मलंगवा–१० निवासी रञ्जित यादवको चार तल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किँदा उनीहरूको खसेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–२ निवासी करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी करिब ४० वर्षीय राज किशोर यादव गम्भीर घाइते भएका थिए। काम गरिरहेको क्रममा छतसहित जमिनमा खस्दा दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।