काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको सडक स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हेलटारदेखि चापागाउँसम्मको ६२.२ किलोमिटर सडक स्तरोन्नतिको कार्यलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका हुन् ।
उनले भने, ‘हेलटारदेखि चापागाउँसम्मको ६२.२ किलोमिटरको सडक स्तरउन्नतिको लागि यसै सदनमार्फत विशेष ध्यानाकर्षण गराउन चाहन्छु । चुनावी प्रचारप्रसारका क्रममा देखेका ती कलिला भाइबहिनीको आँखामा छाएको अन्योल, युवाजमातमा छाएको परिवर्तनको हुटहुटी र सम्पूर्ण जनमानसमा देखिएको उत्साह तथा नयाँ पार्टीप्रतिको आशालाई शिरोधार्य गर्ने प्रतिबद्धता यसै सदनमार्फत गराउन चाहन्छु ।’
उनले परिवर्तनका लागि जीवन आहुती दिने शहीदहरूको सम्मान र जनमतको कदर गर्न नसके देश विकासका नाराहरू खोक्रो बन्ने टिप्पणी गरे ।
महर्जनले भने, ‘अबको दिनमा पनि परिवर्तनका लागि आफ्नो जीवन आहूती दिनुभएका शहीदहरूको कदर गर्न सक्दैनौँ र जनमतको सम्मान गर्न सक्दैनौँ भने देश विकासको खोक्रो नारा बोकेर जनतासमक्ष जानु लज्जास्पद हुनेछ ।’






































