काठमाडौं— नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाह सदनबाट बाहिरिएको विषयमा आपत्ति जनाएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेसकी सांसद बासना थापाले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बाहिरिएको दृष्यले संवैधानिक संस्कार र संसदीय परम्परामा प्रश्न उठाएको बताइन् ।
यस विषयमा उनले प्रधानमन्त्रीसँग जवाफ माग समेत गरेकी छिन् ।
उनले भनिन्,‘लोकतान्त्रि संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृष्य हिजो हामीले देख्यौं । राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृष्य होइन् । यो संवैधानिक संस्कार, संसदीय परम्परा र सरकारको गम्भीरता हो । यस विषयमा सरकारले स्पष्ट जवाफ दिइयोस् । संवैधानिक पदको सम्मान गरियोस् । लोकतन्त्रमा पद भन्दा ठूलो मर्यादा हो भन्ने कुरामा ध्यान जाहोस् । र यस विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दछु ।’






































