चितवन— भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कूल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कूल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो ।
तीन दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यान्वयन नभएको पाइएपछि स्कूल बसलाई तत्काल स्कूल बस निर्देशिका, २०७४ कार्यान्वयनका लागि निर्देशन दिइएको हो ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार बजार क्षेत्रमा सञ्चालित विद्यालयका १४४ वटा बसको यान्त्रिक परीक्षण गरिएको थियो । सो क्रममा नियमित मर्मत नभएका, चक्काको टायर नियमानुसार परिवर्तन नगरिएको लगायत समस्या पाइएको उनले बताए ।
निर्देशिका अनुसार बसमा फोहर फाल्ने डस्टबिन तथा अग्नि नियन्त्रण यन्त्र नभएको, प्राथमिक उपचारका लागि सामग्री नभएको पाइएपछि ती बसलाई तत्काल निर्देशिका कार्यान्वयनका लागि निर्देशन दिइएको प्रहरी निरीक्षक थापाले बताए ।






































