काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड]ले अहिलेको सरकारले गरिब नागरिकलाई सबैभन्दा बढि पीडा दिएको आरोप लगाएका छन । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
संयोजक दाहालले श्रमजीवी वर्गमाथि सबैभन्दा ठूलो आहत दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताए।
उनले कम्युनिस्टबीचको एकताले मात्रै वर्ग सङ्घर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरू एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताए।
संयोजक दाहालले भने, “अहिले सरकारको तर्फबाट सबभन्दा गरिवहरुमाथि, निमुखाहरुमाथि नै सबभन्दा बढी आहत, पीडा दिने कोसिस भएको छ । सबभन्दा गरिब, जसको हामी वर्ग आधार भन्ने गर्दछौँ । त्यही वर्गंमाथि प्रहार भएको छ । हामीले यो बीचमा वैचारिक ढङ्गले र आफ्नो वर्ग आधारलाई दह्रोसँग समात्नुपर्नेमा कमजोरी भएको छ । हाम्रो वर्गीय पक्षधरतामाथि आक्रमण गरेर नेपालमा कम्युनिष्टलाई सिध्याउने देशीविदेशी प्रतिक्रियावादी लागेका छन् । त्यसकारण हामीले वर्ग सङ्घर्षलाई माथि उठाउन सबै कम्युनिष्टहरुबीच एकता गरेर अघि बढ्नुपर्नेछ ।”
अध्यक्ष दाहालले नेपाली जनताले नेपालमा कम्युनिष्ट पार्टीमाथिको नै भरोसा गरिरहेको जिकिर पनि गरे।






































