काठमाडौं— आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एक्तिन र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारी रहेका छन्।
प्रहरीका अनुसार राजकुमार तामाङले जापान पठाइदिने भन्दै एक जनाबाट रु ११ लाख ५५ हजार असुलेका थिए। यस्तै, प्रकाश केसीले अमेरिका पठाइदिने आश्वासनमा १२ जनाबाट रु ९३ लाख ठगी गरेको आरोप छ।
त्यसैगरी, डिल्लीमान तामाङले दुई जनाबाट रु १४ लाख ७५ हजार, श्रीहाङ एक्तिनले दक्षिण कोरिया पठाइदिने भन्दै एक जनाबाट रु १२ लाख २५ हजार तथा नमुना भण्डारीले मकाउ पठाइदिने प्रलोभनमा तीन जनाबाट रु ५ लाख ५० हजार उठाएको प्रहरीले जनाएको छ।






































