काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको निर्माण आयोजनाहरूको काम द्रुत गतिमा अघि बढाउन र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

मंगलबार मन्त्रालयले मातहतका निकायलाई निर्देशन जारी गर्दै निर्माण कार्यमा ढिलाइ हुने प्रवृत्तिको अन्त्य गर्न, नियमित अनुगमन तथा प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेस गर्न भनेको हो ।

आयोजना कार्यान्वयनमा देखिएका अवरोधहरू तत्काल पहिचान गरी समाधान गर्न सम्बन्धित निकायहरूबिच प्रभावकारी समन्वय गर्न समेत मन्त्रालयले परिपत्र गरेको छ ।

‘मूल्य समायोजन सम्बन्धमा कनट्र्याक्ट डकुमेन्टमा भएको व्यवस्था अनुरूप मूल्य समायोजन गरिने हुँदा सो व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउनुहुन र उक्त व्यवस्था कार्यान्वयनमा कुनै समस्या भएमा वा मन्त्रालयबाट सहजीकरण हुनुपर्ने विषय भएमा तत्काल मन्त्रालयमा पठाउनुहुन निर्देशन छ,’ परिपत्रमा भनिएको छ ।

कुनै आयोजनाको कार्य गतिविधि सुचारु नभएमा सम्बन्धित आयोजना प्रमुख र निर्देशक जिम्मेवार हुने तथा निर्माण स्थलमा उल्लेख्य प्रगति नभएको खण्डमा सम्बन्धित कार्यालय प्रमुख जिम्मेवारी हुने गरी व्यवस्था मिलाउन समेत मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयको अग्रसरताले निर्माण क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गरी विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने सहयोग पुग्ने मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बताए ।