काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहविरुद्ध मुद्दा दायर गरेको छ।

अदालतको फैसलाबमोजिम दर्ता खारेज पुर्जी गरी रोक्का रहेको जग्गा फुकुवा गराइदिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा सिंहले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै बार्गेनिङ गरी ५० हजार रुपैयाँ घुस मागी लिएको पुष्टि भएको आयोगले जनाएको छ।

उक्त कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो ५० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबी गर्दै आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।