काठमाडौं— नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ आज आफ्नो ६०औँ साधारणसभासँगै नयाँ नेतृत्वको चरणमा प्रवेश गर्दैछ।
सोमबार बिहान १० बजेबाट सुरु हुने साधारणसभा र निर्वाचन प्रक्रियाले केवल नेतृत्व परिवर्तन मात्र होइन, निजी क्षेत्रको आगामी दिशा र प्राथमिकतासमेत निर्धारण गर्ने अपेक्षा गरिएको छ।
यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको साधारणसभा अदालतमा मुद्दा परेपछि रोकिएको थियो, जसले महासंघभित्र केही समय अन्योल सिर्जना गरेको थियो।
नेपालको औद्योगिक र व्यापारिक इतिहाससँग जोडिएको महासंघको स्थापना वि.सं. २०२२ सालमा भएको हो, जुन राजा महेन्द्रद्वारा उद्घाटित प्रथम वाणिज्य तथा औद्योगिक सम्मेलनको निर्णयअनुसार भएको थियो। त्यसयता महासंघले २० जना अध्यक्ष पाइसकेको छ र आज २१औँ नेतृत्व चयन हुँदैछ।
संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानले यसपटक अन्जन श्रेष्ठलाई नेतृत्वमा पुर्याउँदैछ।






































