पर्वत— कास्कीमा ६२ वर्षीय बाबुको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। रुपा गाउँपालिका–४ बागेडाँडाका ३४ वर्षीय भीमबहादुर भुजेललाई घटनाको भोलिपल्टै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले दिएको जानकारी अनुसार वैशाख १७ गते साँझ करिब पौने ७ बजे उनका बाबु रामबहादुर घर्ती अचेत अवस्थामा भेटिएका थिए। घटनास्थलमा पुग्दा उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको देखिएको थियो। प्रारम्भिक अनुसन्धानले घटना शंकास्पद देखिएपछि प्रहरीले यसलाई कर्तव्य ज्यानको आशंकामा हेरेको थियो।

घटनापछि फरार रहेका भुजेललाई खोजी गर्दै जाँदा वैशाख १८ गते पोखरा महानगरपालिका–११ को हस्पिटल चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल उनलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी १० दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।