काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्तीलाई पर्याप्त सूचना र समय दिएर मात्रै हटाउनु पर्नेमा हतार–हतार गरिएको टिप्पणी गरेका छन् ।

पर्याप्त सूचना र समय नदिई डोजर लगाउँदा मानवीयता र व्यवहारिकता नभएको उजको भनाइ थियो । महामन्त्री पौडेलले सुकुम्बासी बस्तीमा सुकुम्बासी नै थिएनन्, हुकुम्बासी मात्रै थिए भन्ने प्रचार गलत भएको दाबी गर्दै वास्तविक सुकुम्बासीहरूको पहिचान गरेर पुनस्र्थापनाको विकल्प तयार पारेपछि मात्रै हटाउनु पर्नेमा जोड दिए ।

पाल्पा क्षेत्र नं १ बाट कांग्रेसका तर्फबाट निर्वाचित सांसद सन्दीप रानालाई बधाई तथा शुभकामना दिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेसका सांसदहरूको जिम्मेवारी अहिले अझ धेरै रहेको स्मरण गराए ।

उनले भने, ‘झन्डै दुई तिहाइको सरकार छ, त्यसले कतिपय गलत कामलाई पनि संख्याको बलमा जबरजस्ती गर्न सक्छ । त्यसको डटेर सामना गर्नु पर्दछ, जनतालाई बुझाउन सक्नु पर्दछ । त्यसका लागि म सन्दीपजीलाई सक्रिय, अनुकरणीय र देखिने भूमिकाका लागि शुभकामना व्यक्त गर्दछु ।’

उनले संवैधानिक परिषद्लाई सर्वपक्षीय र सन्तुलित बनाउनु पर्ने राज्यको आधारभूत मर्मभित्रको विषय भएकाले एकपक्षीय हुने गरी पुनर्संरचना गर्नु गलत भएको तर्क गरे लोकतान्त्रिक मूल्य–मान्यता र राज्यका आधारभूत मर्मलाई खलबल्याउन नपाइनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित सम्मान कार्यक्रममा पार्टीका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले झन्डै दुई तिहाइको सरकारलाई खबरदारी गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझ बलियो र चुस्त हुनुपर्ने आवश्यकता रहेको स्मरण गराए ।

उनले अदालत, निर्वाचन आयोगजस्ता संवैधानिक निकायले कांग्रेसको विवाद निरूपण गरिसकेकाले अब पार्टीभित्र विवाद गर्नुको औचित्य नरहेको तर्क गरे ।