डडेल्धुरा—सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा खटाइएका दुई उपसचिवले राजीनामा दिएका छन् । डडेल्धुरा र बाजुरा जिल्लाका स्थानीय तहमा खटाइएका उपसचिव नवराज ओझा र भोजबहादुर ऐडीले राजीनामा दिएका हुन् ।
ओझालाई डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेर पठाएको थियो । उनले स्वास्थ्य अवस्था र व्यक्तिगत समस्याका कारण सुदूरपश्चिमका प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याललाई राजीनामा बुझाएका छन् ।
ओझा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । उनी मुख्यमन्त्री कार्यालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हालिरहेका थिए । सेवा अवधि एक वर्ष मात्रै रहेको तथा स्थानीय तहमा काम गरेको अनुभव नभएकाले ओझाले राजीनामा दिएको बताइएको छ । ओझाको घर कैलालीको गोदावरी नगरपालिका–६ लालपुर हो ।
यस्तै, बाजुराको बुढीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका उपसचिव ऐडीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर राजीनामा बुझाएका छन् ।
उनलाई मन्त्रालयले २०८२ पुसमा नै बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो । त्यसको दुई महिनापछि नगरपालिकामा हाजिर भएका ऐडी एक साता बसेर फर्किएका थिए ।
१६ चैतमा मन्त्रालयले पुनः सोही नगरपालिकामा खटाएपछि ५६ वर्षीय ऐडीले राजीनामा दिएका हुन् । उनले आफू निकटका व्यक्तिलाई दुर्गममा नपठाउन अनुरोध गर्दागर्दै पनि बुढीगंगा खटाइएकोले राजीनामा दिएको बताउने गरेका छन् ।




































