काठमाडौं— नेपालीद्वारा नेपाल र नेपालीका लागि सञ्चालित परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले गत वर्ष पनि शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, प्राकृतिक विपत्तिदेखि पुनः स्थापनासम्म नेपालका दूर दराजका गाउँघरमा आशा र उज्यालो फैलाउँदै सेवा यात्रा जारी राखेको छ।
हेल्प नेपाल नेटवर्कले वि सं २०८२ मा देशका दुर्गम भूभागदेखि सहरसम्म विभिन्न समुदायमा शिक्षा, स्वास्थ्य, बाल संरक्षण, महिला सशक्तीकरण र आपत्कालीन राहतका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै हजारौँ नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको जनाएको छ ।
‘जहाँ आवश्यक छ त्यहीँ सेवा’ भन्ने भावनासहित स्थापित हेल्प नेपाल नेटवर्क आज पनि करुणा, सहानुभूति र मानवीय सेवाको क्षेत्रमा अविचलितरुपमा लागि रहेको छ,’ हेल्प नेपाल नेटवर्कका ग्लोबल संयोजक डिला खरेलले भने। ‘हामी विदेशमा बस्छौँ, तर हाम्रो मुटु अझै नेपालकै लागि धड्किन्छ ।’
‘नेपालका लागि महिनाको एक डलर वा एक पौण्ड’ भन्ने नारा अघि सार्दै हेल्प नेपालले व्यावहारिक परोपकारको संस्कृतिलाई विश्वभर फैलाइरहेको उनले जनाए।
नेटवर्कले २०८२ मा शिक्षा क्षेत्रमा उल्लेख्य गतिविधि गरेको जनाएको छ । राजकुलेश्वर आधारभूत विद्यालय दोलखामा १ जना इङ्ग्लिस मिडियम शिक्षक र १ जना मन्टेश्वरी केयरटेकरका लागि एक वर्षको तलब सहयोग गरेको छ ।
पञ्चकन्या आधारभूत विद्यालयमा ४ शिक्षकको तलब तथा अतिरिक्त पाठ्यक्रम पुस्तक खरिद सहायता गरेको जनाएको छ । खापरमास्ता आधारभूत विद्यालय, कालिकोटमा ५३ सेट ट्र्याक सुट वितरण गरेको थियो ।
राजखुलेश्वर आधारभूत विद्यालय,दोलखामा काठमाडौँ विश्वविद्यालयका स्वयंसेवकहरूले भ्रमण गरी हाईटेक प्रयोगशालाको कार्य प्रदर्शन कस्तो भइरहेको छ भन्ने विषयमा अनुगमन तथा सर्वेक्षण गरेको छ । यो परियोजना नेटवर्कद्वारा राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा, महावीर पुनको नेतृत्वमा कार्यान्वयन गरिएको थियो।






































