विराटनगर— नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ‘जरा अभियान’ अन्तर्गत झापाका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई समयमै सम्पन्न गर्न सबै तहका समितिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेस झापाद्वारा आयोजित जिल्लास्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले वडा, गाउँ/नगर, प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिहरूको समन्वय बिना अभियान सफल हुन नसक्ने बताए। बैशाख १ गतेदेखि सुरु भएको एकमहिने ‘जरा अभियान’ अहिले वडातहसम्म विस्तार भइसकेको उल्लेख गर्दै उनले समयमै सदस्यता अद्यावधिक गर्न निर्देशन दिए।
अभियानका अर्का केन्द्रीय प्रतिनिधि रुद्रबहादुर कन्दङ्वाले सदस्यता अद्यावधिकपछि प्रत्येक सदस्यको गतिविधि, नीति, सिद्धान्त र विचारप्रतिको प्रतिबद्धता डिजिटल प्रणालीमार्फत अनुगमन गर्न सहज हुने बताए। उनले आधुनिक प्रविधिको प्रयोगले संगठनलाई थप सुदृढ बनाउने धारणा व्यक्त गरे।
जिल्ला सभापति देउकुमार थेवेले वडातहमा खटिएका प्रतिनिधिहरूलाई स्थानीय स्तरमै सहजीकरण र अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। उनले सबै तहका समितिहरूसँग समन्वय गर्दै सदस्यता अद्यावधिक कार्यलाई तीव्र बनाउन आह्वान गरे।
थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति शेरबहादुर भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए भने सचिव कृष्ण हुमागाईंले सहजीकरण गरेका थिए।
कार्यक्रममा सजेश शिवाकोटी र अमृत बास्तोलाले डिजिटल प्रविधिबाट सदस्यता अद्यावधिकको प्रभावबारे जानकारी दिँदै वर्तमान समयलाई ‘डिजिटल प्रचारको युग’का रूपमा व्याख्या गरे। उनीहरूले सदस्यता नवीकरणलाई बैंकको केवाईसी प्रक्रिया जस्तै व्यवस्थित बनाउँदै सामाजिक सञ्जाल विवरण अनिवार्य गर्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको हो। १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा तहबाटै सदस्यता अद्यावधिक अभियान अघि बढाइएको छ।
यसैबीच, केन्द्रीय समितिले वडादेखि केन्द्रसम्मको महाधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार वडा अधिवेशन भाद्र २ गते, पालिका अधिवेशन भाद्र ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन भाद्र १७ गते, क्षेत्रीय अधिवेशन भाद्र २४ गते, जिल्ला अधिवेशन (एक क्षेत्र) भाद्र २४ गते र बहु–क्षेत्रीय जिल्लामा असोज २ र ३ गते हुनेछ। प्रदेश अधिवेशन असोज ७ र ८ गते तथा केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ।
यसै क्रममा भेलाले नेपाली कांग्रेस संसदीय दलको नेतामा भिष्मराज आङदेम्बेलाई सर्वसम्मत चयन गरिएको जानकारी दिएको छ। साथै प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निष्कल राई चयन भएका छन्।
भेलाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिक तर्फ निर्वाचित सांसदहरू सुशिला ढकाल आचार्य र मनुमाया विश्वकर्मालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको छ।




































