सुर्खेत— सधैँ शैक्षिक सत्र सकिन लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक अभाव झेल्दै आएको कर्णालीमा यो वर्ष भने विद्यालय भर्ना सुरु हुन अगावै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइएको छ ।
गत चैत १ गतेदेखि कर्णालीका विभिन्न जिल्लाहरूमा पाठ्यपुस्तक पुर्याइएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख जमुना ढकालले बताइन् । ‘कर्णालीका १० जिल्लाका लागि दश लाख थान पुस्तक ल्याइएको थियो’ उनले भनिन्, ‘धेरै स्थानमा पुस्तक पुर्याइसकिएको र छुटेका जिल्लाहरूमा पठाउने काम भइरहेको छ ।’
कर्णालीका हिमाली जिल्लाहरूमा पहिलो चरणमा र बाँकी जिल्लाहरूमा दोस्रो चरणमा पठाइएको उनले बताइन् । चैत १ गतेदेखि १४ गतेसम्म डोल्पा र हुम्ला, चैत ५ गतेदेखि १६ गतेसम्म मुगु, १७ गतेदेखि १८ गतेसम्म जुम्ला, १९ गतेदेखि २० गतेसम्म कालिकोट, २१ गतेदेखि २२ गतेसम्म जाजरकोट, २३ गतेदेखि २४ गतेसम्म दैलेख र २५, २६, २७ गते तीन दिन सुर्खेतका लागि पाठ्यपुस्तक वितरण गरिएको उनले बताइन् ।
सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ बाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । शिक्षा नियमावली २०७८ ले नयाँ शैक्षिक सत्र २ वैशाख र पठनपाठन १६ वैशाखबाट सञ्चालन गर्ने भनेको छ । कर्णालीका केही स्थानीय तहहरूले भने भर्ना अभियान सुरु गरिसकेका छन् । विद्यार्थी भर्नासँगै विद्यार्थीले पाठ्यपुस्तक पाए समयमै पाठक पाठन हुने विश्वास गरिएको छ । जनक शिक्षाले सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाइ सक्दा गोदाममा सात हजार थान मौज्दात रहेकोले आवश्यकता अनुसार पठाउने तयारी जनक शिक्षाले गरेको छ ।
कर्णालीका पहाडी जिल्लाहरूमा भर्ना अभियान सुरु भई सकेको छ । मुगुको छायानाथ रारा नगरपालिकाले वैशाख ७ गतेदेखि पालिकाभर भर्ना अभियान सुरु गरेको जनाएको छ । ९ देखि १५ गतेसम्म भर्ना अभियान र १६ गतेदेखि पठनपाठन सुरु गर्ने तयारी भइरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख विवेक विकले जानकारी दिए । डोल्पाको मुड्के चुला, शे फोक्सुन्डो गाउँपालिका गाउँपालिका र सानी भेरी नगरपालिकाले भर्ना अभियान सुरु गरिसकेका छन् ।




































