विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हस्पिटालिटी म्यानेजमेन्ट अर्थात् आतिथ्य व्यवस्थापन सम्बन्धी विशेष तालिम संचालन गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा रत्ना होटल विराटनगरको समन्वय र सहकार्यमा वैशाख १० गतेबाट रत्ना होटलमा संचालन भएको उक्त तालिमको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे तथा रत्ना होटल विराटनगरकी प्रवन्ध निर्देशक जिना थापाले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधनको क्रममा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले तालिमले प्रहरी कर्मचारीहरूको व्यवहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै यस्ता तालिमहरूले प्रहरी कर्मचारीहरूलाई सेवाग्राही मैत्री, अनुशासित तथा पेशागत रूपमा अझ सक्षम र दक्ष बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै प्रहरी कर्मचारीहरूको व्यवसायिक दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक समन्वय र सहकार्य प्रदान गरेकोमा होटल रत्नालाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे।
कार्यक्रममा प्रवन्ध निर्देशक जिना थापाले होटल तथा पर्यटन क्षेत्रको व्यावहारिक अनुभव प्रहरीसँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताउँदै आतिथ्य व्यवस्थापन सम्बन्धी सीपले सेवामूलक क्षेत्रमा काम गर्ने प्रहरी जनशक्तिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। २१ कार्य दिन अवधिको उक्त तालिममा २० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको साथै होटलका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।






































