काठमाडौं । नेपाली कांग्रेसका नेता इन्दु प्रकाश शर्माले पार्टी तत्काल नफुट्ने तर युवा र पाका नेताहरुबीच अन्तरद्वन्द्व सुरु हुने दाबी गरेका छन् ।
०५८ सालमा कांग्रेस दुई चिरा हुँदा ठूलो क्षति व्यहोरेकाले अब पार्टी नफुट्ने तर ‘ओरिजिनालिटी’ मरिसकेकाले ‘रिभाइभ’ गर्नुपर्ने औंल्याए । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले कांग्रेसभित्र अब युवा एकातिर र पाका पुस्ताका नेताहरु अर्कोतिर हुने बताए ।
‘कांग्रेस फुट्दैन तर युवा र पाका पुस्ताबिच अन्तरद्वन्द्व सुरु हुन्छ । तर केही शक्तिहरुले म्यानिपुलेट गर्ने संभावना भएकाले सानो समूह चोइटिन सक्छ,’ उनले भने ।
लोकतन्त्रको सुन्दर पक्ष भनेको ‘संवाद’ भएपनि कांग्रेसभित्र संवादहीनताको अवस्था रहेको औंल्याउँदै नेविसंघका पूर्व केन्द्रीय सदस्य शर्माले पार्टी सभापति गगन कुमार थापा संवाद गर्ने मूडमा नरहेको आफूले अनुभव गरेको सुनाए ।
कुनै समय भारतीय नेताहरु राजिव गान्धी र अटल बिहारी बाजपेइबीचको सम्बन्ध एवम संवादको उदाहरण दिंदै नेता शर्माले गगन थापाका प्रशस्त कमजोरीहरु औंल्याए । थापाले फागुन २१ गतेको निर्वाचन अघि नै सबै पक्षका नेताहरुसँग संवाद गर्न अटेरी गरेर ठूलो गल्ती गरेको बताए ।
‘फागुन २१ गतेको निर्वाचन अगावै सभापति गगन थापाले सबै समूहका नेताहरुसँग डाइलग गरेको भए आठदेखि १० सिट थपिने थियो । उहाँ डाइलग गर्न हिचकिचाइरहनु भएको छ, त्यो भनेको डेमोक्रेसीको सुन्दरता होइन,’ उनले भने,‘अटल विहारी र राजिव गान्धीविच घोचपेच प्रशस्त हुन्थ्यो र निरन्तर सुमधुर संवाद पनि हुन्थ्यो । होइन भने एक पटक इतिहास पल्टाएर हेर्नुहोस । उहाँहरुबाट पनि हामीले सिक्नुपर्छ ।’
नेपाली कांग्रेस र जनताबीच सूचना आदनप्रदानमा ठूलो कमजोरी रहेको बताउँदै नेता शर्माले जनता र पार्टीबीच सुमधुर सम्बन्ध राख्न सूचना आदनप्रदान महत्वपूर्ण हुने औंल्याए ।
‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नाराप्रति कटाक्ष गर्दै नेता शर्माले कपीपेस्टको राजनीतिले माथि पुग्न नसकिने बताए । ‘यो नारा त मलाई ०६२/०६३ सालको आन्दोलनताका ठूला होर्डिङ बोर्डमा राखिएको फेयर एण्ड लवलीको विज्ञापनजस्तो पो लाग्छ । नारामा कुनै सिर्जना नै छैन्, अपनत्व नै छैन् । नाराले त कार्यकर्ताको रगत उम्लिनुपर्छ र रौं ठाडो हुनुपर्छ, त्यस्तो केही अनुभूति नै गर्न सकिएन्,’ उनले भने ।
यस्तै तौरतरिकाले नेपाली कांग्रेस नबदलिने र बदल्न नसकिने उनको भनाइ छ । ‘तत्कालिन पार्टी सभापति शेर बहादुर देउवा र हालका सभापति गगन थापाको कार्यशैलीमा मैंले केही भिन्नता पाएको छैन् । जनताले के भिन्नता भेट्लान र ? नबदलिएको कांग्रेसले देश बदल्न सक्दैन्,’ उनले भने ।
यतिबेला देश बदल्ने मात्र नभइ फड्को मारेर जानुपर्ने बताएका उनले कांग्रेसका नेताहरु काम गरिसकेपछि वा रिटायर्ड भएपछि आफ्नो जन्मभूमिका फर्कनुको साटो अवसरको दौरानमा हिंडेकाले पार्टीले थप क्षति व्यहोर्ने बताए ।
‘अमेरिकामा जर्ज वासिङटन राष्ट्रपति भइसकेपछि आफ्नो मातृभुमि गएर बसे । शेरबहादुर देउवादेखि पूर्ण बहादुरहरु खड्काहरु रिटायर्ड भइसक्नुभयो । उहाँ जन्मगाउँ फर्किनुपर्छ, अभिभावक बनेर बस्नुपर्छ । देउवा डडेल्धुरा नै जानुपर्छ र खड्का सुर्खेत नै फर्किनुपर्छ । अनिमात्र गाउँदेखि कांग्रेसको संगठन निर्माण हुन्छ,’ उनले भने,‘अब पूराना पुस्ताका नेताहरुले नयाँ पुस्ताका युवाहरुलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ । सक्नुहुन्छ भने आफ्नै परिवारका सदस्यलाई जिम्मेवारी दिएपनि हुन्छ । किनकी उहाँहरुले आफ्ना परिवार वा छोराछोरीलाई राम्रो शिक्षा दिनु भएको छ र शिक्षित युवाहरु राजनीतिमा आएमात्र देश बदलिनेछ ।’






































