काठमाडौं— वैदेशिक रोजगारीको नाममा ठगी गर्ने चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा २५ वर्षीय मिथिलेश कुशवाहा, ४४ वर्षीय केदार बहादुर भण्डारी, ५३ वर्षीय राम तुला मिया र ५५ वर्षीया सुनिता खत्री रहेका छन्। 

आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने आश्वासन दिएर रकम असुलेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले कुवेत, पोर्चुगल र अल्बानिया पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूसँग लाखौँ रुपैयाँ लिएको तर पछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो। पक्राउपछि थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।