हेटौंडा— मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित तिलखण्डी क्षेत्रमा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग गरिएको घटना सार्वजनिक भएको छ ।
कार्यालयको कामबाहेक पारिवारिक घुमघामका लागि सरकारी गाडी प्रयोग गरिएको देखिएपछि स्थानीयवासीले कडा आपत्ति जनाएका छन् । प्रत्यक्षदर्शी सुनिल वाइबाका अनुसार बिदाको दिन बागमती प्रदेश ०१–००२ झ ७१८४, बा २ भ १३९१ र प्रदेश ३–०३–००१ झ ००२८ नम्बरका सरकारी सवारीसाधनहरू होटल, भट्टी तथा मनोरञ्जनस्थलअगाडि लामो समयसम्म रोकिएका देखिएका थिए ।
ती सवारीमा आएका व्यक्तिहरू मदिरा सेवन तथा खानपिनमा संलग्न रहेको र कतिपय अवस्थामा परिवारका सदस्यसँगै घुमघाममा निस्किएको समेत देखिएको उनले बताए ।
स्थानीय कुमारी स्याङतानले जनताको करबाट सञ्चालन हुने सरकारी सवारीलाई निजी प्रयोजनमा प्रयोग गर्नु गम्भीर दुरुपयोग भएको बताइन् । ‘बिदाको दिनमै मदिरा सेवन र पारिवारिक घुमघामका लागि सरकारी गाडी प्रयोग हुनु निन्दनीय छ,’ उनले भनिन् ।
स्थानीयका अनुसार त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने उक्त क्षेत्रमा बिदाका दिन ‘खाजा ब्रेक’का नाममा सरकारी सवारी रोकेर घण्टौँ बिताउने प्रवृत्ति बढ्दै गएको छ । साँझपख भट्टी तथा बारहरूमा समेत सरकारी गाडीको उपस्थिति देखिनु दुरुपयोगको स्पष्ट संकेत भएको उनीहरूको भनाइ छ ।
कानुनी व्यवस्थाअनुसार सरकारी सवारीसाधन कार्यालयीय प्रयोजनबाहेक अन्यत्र प्रयोग गर्न पाइँदैन । तथापि, व्यवहारमा यसको खुलेआम उल्लङ्घन भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् । यस्ता गतिविधिमा प्रहरी तथा सम्बन्धित नियमन निकायबाट प्रभावकारी निगरानी र कारबाही नदेखिएको भन्दै उनीहरूले प्रश्न उठाएका छन् ।
एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने, ‘सामान्य नागरिकलाई सानो गल्तीमा कारबाही गर्ने निकायले सरकारी सवारी दुरुपयोगमा किन मौन रहन्छ? कानून सबैका लागि समान हुनुपर्दैन ?’
स्थानीय अगुवा छिरिङ लामाले घटनाबारे तत्काल छानबिन गर्न माग गरेका छन् । ‘उक्त सवारी कुन निकायका हुन्, किन प्रयोग भए र कसको निर्देशनमा प्रयोग गरिए यसको यथाशीघ्र छानबिन हुनुपर्छ । दोषीमाथि कडा कारबाही नगरेसम्म यस्तो प्रवृत्ति रोकिन्न,’ उनले भने ।
उक्त घटनाले सरकारी स्रोत–साधनको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ । स्थानीय बासिन्दाले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूको भनाइमा यस्ता घटनामा बेवास्ता गरिए सरकारी स्रोतको दुरुपयोग अझ बढ्दै जानेछ र राज्यप्रति नागरिकको विश्वास कमजोर हुँदै जानेछ ।






































