काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन र प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न सरोकारवाला सबैलाई कडा निर्देशन दिएको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै केही अस्पताल, स्वास्थ्य संस्था र अन्य प्रतिष्ठानहरूमा चिकित्सक, नर्सिङ स्टाफ लगायतका कर्मचारीहरूलाई श्रम सम्झौता विनै काममा लगाइएको तथा कानुनले तोकेको भन्दा बढी समय श्रम गराइएको भन्ने उजुरीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

श्रम ऐन, २०७४ को व्यवस्थालाई स्मरण गराउँदै मन्त्रालयले रोजगारीको सेवा, शर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच सम्झौता हुनु अनिवार्य रहेको र यसमा रोजगारदाताले दिने नियुक्तिपत्रसमेत समावेश हुने प्रष्ट पारेको छ।

कानुनी प्रावधानअनुसार कुनै पनि श्रमिकलाई प्रतिदिन आठ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन पाइँदैन। यदि अतिरिक्त समय काम लगाउनुपर्ने अवस्था आएमा पनि त्यो प्रतिदिन चार घण्टा र हप्तामा २४ घण्टाभन्दा बढी हुन नहुने व्यवस्था विज्ञप्तिमा उल्लेख गरिएको छ।

मन्त्रालयले कसैलाई पनि निर्धारित समयभन्दा बढी काम गर्न बाध्य नपार्न सचेत गराउँदै प्रचलित कानुनको उल्लंघन गरेको पाइएमा श्रम ऐन, २०७४ बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।