काठमाडौं— नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ प्रचण्ड पुगेर ३० मिनेट जति बसेको बताइएको छ ।

एमाले सचिव पद्मा अर्यालले दाहाल ओलीलाई भेट्न पुगेको बताउँदै स्वास्थ्यलाभको कामना गरेको बताइन् । एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा प्रचण्ड(ओलीबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

‘उहाँ आउनुभएको हो स्वास्थ्यलाभको कामना गर्नुभयो थप विषय त मैले पनि बुझ्नु पर्छ’, अर्यालले भनिन् । नेकपा र एमालेका केही नेताको छलफलपछि ओली(प्रचण्डको संवाद भएको स्रोतको दाबी छ ।

त्यसअघि ओलीको सन्देश बोकेर एमालेका दुई पदाधिकारीले नेकपाका शीर्ष नेतालाई भेटेका थिए ।

नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमसहितका नेताहरूलाई एमालेका पदाधिकारीले आगामी दिनको सहकार्यका विषयमा छलफल गरेको बताइन्छ । उनीहरुबीच करिब ४ घण्टा छलफल भएको थियो । त्यसपछि प्रचण्ड ओलीलाई भेट्न पुगेको स्रोतले जानकारी दिएको छ ।

आज फेरि एमालेका एक पदाधिकारीले प्रचण्डलाई भेटेका छन् । उनीहरूबीच नेकपा र एमालेबीचको सहकार्यको विषयमा कुरा भएको स्रोतको दाबी छ ।