काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

निर्वाचन समितिका अनुसार संघको १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि उपत्यकाबाहिर आज शुक्रबार र भोलि शनिबार मतदान हुँदैछ ।

काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते मतदान हुनेछ। मतदान बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिनेछ ।

निर्वाचनमा डा। बद्री रिजाल, डा।मंगल रावल र डा।नारायण भुषाल नेतृत्वका तीन प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ ।

तीन समूहबाट कुल ५५ जना उम्मेदवार चुनावमा सहभागी छन् ।

उपत्यकाबाहिर विराटनगर, धरान, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, जुम्ला, पाल्पा, हेटौंडा, तनहुँ, रौतहट र काभ्रेसहितका स्थानमा मतदान भइरहेको छ ।