काठमाडौं— नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । कांग्रेसका सांसद भिष्मराज आङदाम्बेका अनुसार लेखा समितिमा कांग्रेसको उम्मेदवारी रहन्छ । बाँकी समितिको हकमा विपक्षी दलहरूसँग सल्लाह भइरहेको उनले बताए ।

सिंहदरवारमा दिउँसो १२ बजे विपक्षी दलका नेताहरूको संयुक्त छलफल हुँदैछ । त्यसले उम्मेदवारी दिने वा नदिने र उम्मेदवारी दिँदा कुन समितिमा कसलाई उम्मेदवार बनाउने भनेर तय गर्नेछौं, सांसद आङदाम्बेले बताए । संसदीय अभ्यासअनुसार सार्बजनिक लेखा समिति प्रतिपक्षी दललाइ दिने पराम्परा रहेको छ ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । मनोनयन दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रियसभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा समिति संयुक्त समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गतका र संयुक्त समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

गत चैत २७ गते सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।