काठमाडौं— सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिट कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ। 

खड्कालाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी विनिता थापाले दायर गरेको रिट इजलासको पहिलो नम्बरमै पेसी छ। 

यसअघि बुधबार पनि यो रिटमा सुनुवाइ भएको थियो। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले अनुसन्धान फाइल झिकाउन र आजका लागि पेसी तोक्न आदेश दिएको थियो। 

राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल समेत बुझाउन आदेश दिएको थियो। 

खड्का सम्पत्ति शुद्धीकरणको कसुरमा सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरे पनि उसले अनुसन्धान गरेर प्रतिवेदनसहित आन्तरिक राजस्व अनुसन्धान विभागमा पठाएको थियो। आन्तरिक राजस्व अनुसन्धान विभागले फेरि त्यो फाइल राजस्व अनुसन्धान विभागमा पठाएको छ। 

गएको सोमबार राजस्व अनुसन्धान विभागले तीन दिन हिरासतमा राख्न अनुमति लिएको थियो। जिल्ला अदालत, ललितपुरले उनलाई थुनामा राख्न अनुमति दिएको थियो। 

सर्वोच्चले जिल्ला अदालतलाई समेत खड्कालाई थुनामा राख्नुको कारणसहितको लिखित जवाफ झिकाउन भनेको छ। 

खड्कालाई हाल जे जुन अवस्थामा राखिएको छ, भोलि बिहीबार रिट निवेदनको सुनुवाई नभएसम्म सोही अवस्थामा राख्न पनि सर्वोच्चले थप आदेश दिएको छ। खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत चैत १५ गते पक्राउ गरेको थियो। 

यसअघि सम्पत्ति शुद्धीकरण विभागले नै म्याद थप गरे पनि फाइलसहित बुझाएपछि राजस्वबाट अनुसन्धान अगाडि बढेको हो। खड्कालाई सीआईबीको हिरासतमा राखिएको छ।