एजेन्सी— टर्कीको दक्षिणी प्रान्त काहमानमारासको एक विद्यालयमा भएको गोलाबारीमा परी कम्तीमा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ। दुई दिनभित्र टर्कीका विद्यालयमा भएको यो दोस्रो घातक आक्रमण हो।
दक्षिण टर्कीको आयसर चालिक माध्यमिक विद्यालयमा बुधबार एक १४ वर्षीय आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए। आन्तरिक मामिला मन्त्री मुस्तफा सिफ्चीका अनुसार आक्रमणमा ९ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
आक्रमणकारी १४ वर्षीय किशोरको पनि घटनाकै क्रममा मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारी ती किशोर पाँचवटा बन्दुक र सातवटा म्यागजिनसहित दुईवटा कक्षाकोठामा प्रवेश गरेका थिए। भिडियो फुटेजहरूमा विद्यार्थीहरू ज्यान जोगाउन विद्यालयको पहिलो तलाका झ्यालहरूबाट हामफालिरहेको र अभिभावकहरू त्रसित अवस्थामा विद्यालय बाहिर जम्मा भएको देखिन्छ।
स्थानीय गभर्नर मुक्केरेन उन्लुअरका अनुसार ती किशोरले प्रयोग गरेका हतियारहरू उनका बुबाका हुन्, जो पूर्व प्रहरी अधिकारी थिए। प्रहरीले ती किशोरका बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
यो घटनाको अघिल्लो दिन मात्रै टर्कीकै अर्को एउटा उच्च माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले गोली चलाउँदा १६ जना घाइते भएका थिए। मंगलबारको उक्त घटनामा आक्रमणकारीले आफैँलाई गोली हानी आत्महत्या गरेका थिए।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सामाजिक सञ्जाल एक्स (X) मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै घाइते बालबालिका, परिवार र शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
आफ्ना बालबालिकालाई विद्यालय पठाउन अब डर लाग्न थालेको भन्दै अभिभावकहरूले विद्यालय सुरक्षालाई लिएर चिन्ता र आक्रोश व्यक्त गरेका छन्।





































