काठमाडौं— देशको समग्र आर्थिक गतिविधिको यथार्थ चित्रण गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय आर्थिक गणना आजदेखि औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ भने गणक तथा सुपरीवेक्षकहरू देशभरि सम्बन्धित क्षेत्रमा खटिइसकेका छन् ।

निर्धारित कार्यतालिकाअनुसार आगामी असारको पहिलो साताभित्र स्थलगत तथ्यांक संकलन सम्पन्न गरिनेछ । यसका लागि करिब ५ हजार जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ । यस गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको संख्या, प्रकृति, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा मुख्य सूचकहरू समेटिनेछन् ।

त्यसैगरी, देशभरि दर्ता भएका तथा नभएका साना–ठूला व्यापार प्रतिष्ठान, स्वरोजगार र रोजगारी सिर्जना गर्ने संस्थाहरू, उद्योग–कलकारखाना, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, निजी तथा सरकारी विद्यालय र अस्पतालहरू समेत गणनाको दायरामा पर्नेछन् । आर्थिक गणनाका लागि आवश्यक पूर्वतयारी फागुन मसान्तसम्ममै सम्पन्न भइसकेको छ । चैतको सुरुवातमै ७७ जिल्लाका साथै थप ७ गरी कुल ८४ वटा कार्यालय स्थापना गरिएका छन्, जुन आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन् ।

यसअघि विसं २०७५ मा गरिएको राष्ट्रिय आर्थिक गणनामा देशभरि ९ लाख २३ हजार ३५६ वटा प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको थियो । देशको औद्योगिक तथा आर्थिक क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न महत्वपूर्ण मानिएको यस गणनामा सक्रिय सहभागिता जनाउन अर्थ मन्त्रालयले सबै सरोकारवालासँग आग्रह गरेको छ ।