बुटवल— रूपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध अनलाइन सट्टेबाजी (जुवा)मा संलग्न भएको आरोपमा २० जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीबाट खटिएको टोलीले तिलोत्तमाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । तिलोत्तमा नगरपालिका–७ बाट पक्राउ पर्नेमा ९ जना भारतीय नागरिक पनि छन् ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका विभिन्न जिल्लाका व्यक्ति रहेका प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ३ थान ल्यापटप, २० थान मोबाइल र ५ थान हिसाब राख्ने रजिस्टर बरामद गरिएको रूपन्देही प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
यस्तै, तिलोत्तमा–१५, कोटिहवाबाट ११ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतका विभिन्न स्थानका नागरिकसहित रूपन्देहीका एक पुरुष र एक महिला तथा सुर्खेत घर भई हाल रूपन्देही बस्दै आएकी एक महिलासमेत रहेका छन् ।
उनीहरूको साथबाट २३ बन्डल भारतीय बैंकका चेकबूक, २५ वटा एटीएम कार्ड, ९१ हजार ७२५ रुपैयाँ, भारतीय पासपोर्ट, ३० वटा आधार कार्ड, ६ वटा ल्यापटप, २१ वटा मोबाइल, ३ वटा पेन ड्राइभ, ३ वटा छाप र एउटा राउटर बरामद गरिएको चन्दले जानकारी दिए ।






































