पोखरा— एकल महिला सिर्जना पौडेल केसीको हत्या प्रकरणमा प्रहरीले उनका भाञ्जालाई पक्राउ गरेको छ । पारिवारिक कलह र अंशसम्बन्धी विवादका कारण हत्या भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।

चैत २५ गते साँझ पृथ्वीचोकस्थित आफ्नो जुत्ता पसल बन्द गरेर घर फर्किने क्रममा शिवालय चोक हुँदै सभागृह चोकतर्फ जाँदै गरेकी सिर्जनामाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको थियो । टाउकोमा गम्भीर चोट लागेपछि उनी सडकमै ढलेकी थिइन् र घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि फरार भएका व्यक्तिको खोजीमा जुटेको प्रहरीले अनुसन्धानका क्रममा मृतककै भाञ्जा संलग्न रहेको पुष्टि गर्दै उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी यसअघि पनि लागुऔषध, अभद्र व्यवहार र चोरीसम्बन्धी घटनामा संलग्न भइसकेका थिए ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार घटनाअघि नै मृतकको निगरानी गरिएको र मौका छोपेर आक्रमण गरिएको देखिएको छ । घटनामा प्रयोग गरिएको मोटरसाइकलका चालक फरार रहेकाले उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

सिर्जना एकल महिला थिइन् र श्रीमानको मृत्यु भएपछि परिवारभित्र अंशसम्बन्धी विवाद चलिरहेको थियो । सोही विवादकै कारण पारिवारिक सम्बन्धमा तनाव बढ्दै गएको र त्यसैको परिणामस्वरूप घटना घटेको प्रारम्भिक आकलन गरिएको छ ।

प्रहरीले घटनामा अन्य परिवार सदस्यको संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनाबारे विस्तृत जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।