मलंगवा— सर्लाहीमा सशस्त्र प्रहरीले अवैध मदिरा र भन्सार छलीविरुद्ध कारबाहीलाई तीव्र बनाएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको अपरेसनमा ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ भने केही दिनअघि भन्सार छलीका सामानसहित एक अटो नियन्त्रणमा लिइएको थियो ।

कविलासी नगरपालिका–८ अगर्वा चेकपोइन्टमा सशस्त्र प्रहरी बल नेपाल नं। १० गण हे।क्वा। सर्लाहीबाट सशस्त्र प्रहरी हवल्दार भक्त बहादुर धामीको कमाण्डमा खटिएको टोलीले नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको म्याजिक गाडी चेकजाँच गर्ने क्रममा अन्दाजी ६ हजार रुपैयाँ बराबरको ६०० लिटर घरेलु मदिरा बेवारिसे अवस्थामा फेला पारेको हो ।

बरामद गरिएको मदिरा गणमा ल्याई सुरक्षित राखिएकोमा सोही दिन अपराह्न ३ः५० बजे स्थानीय जनप्रतिनिधि, भद्रभलादमी तथा नेपाल प्रहरीको रोहबरमा गण परिसरभित्र खाडल खनेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच, केही दिनअघि चन्द्रनगर गाउँपालिका–४, पोखरिया क्षेत्रमा सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवा र बिओपी सखुअवाबाट खटिएको संयुक्त टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भन्सार छलीका सामानसहित एक अटो नियन्त्रणमा लिएको थियो ।

सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमान्डमा १० जना तथा सप्रनानी पुष्कर रिमालको कमान्डमा ७ जनाको मोबाइल गस्ती टोलीले ज १ ह ४४५१ नम्बरको अटो जाँच गर्दा बिलविजक तथा भन्सार प्रज्ञापन पत्रविहीन किराना सामान बरामद गरेको हो ।

अटोमा सवार ईश्वरपुर नगरपालिका–६, बयलवास निवासी अन्दाजी ३० वर्षीय बवी महतोलाई समेत नियन्त्रणमा लिइएको थियो । सुरक्षा स्रोतका अनुसार महतो लामो समयदेखि सखुअवा र पर्सा नाकाबाट विभिन्न सामान भन्सार छली गरी नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको बताइएको छ।

सामान नियन्त्रणमा लिएपछि उनले सुरक्षाकर्मीलाई गृह मन्त्रालयसम्म पहुँच प्रयोग गरी सरुवा गराइदिने धम्की दिने, भिडियो बनाएर फसाइदिने तथा जागिर खाइदिने चेतावनी दिएको एक सुरक्षाकर्मीले बताएका थिए । सार्वजनिक स्थलमै दुव्र्यवहार गर्ने गरेको आरोपसमेत उनीमाथि लगाइएको छ ।

नियन्त्रणमा लिइएको अटो तथा सामान आवश्यक कारवाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा पठाइएको थियो । भन्सार कार्यालयका अनुसार अटोको मूल्य ३ लाख ५० हजार रुपैयाँ र किराना सामानको मूल्य १ लाख २७ हजार १२५ रुपैयाँ गरी कुल ४ लाख ७७ हजार १२५ रुपैयाँ बराबरको सामान दाखिला गरिएको थियो ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा तस्करी, अवैध मदिरा उत्पादन तथा ओसारपसार नियन्त्रणका लागि चेकजाँच, निगरानी तथा मोबाइल गस्तीलाई थप कडा बनाउँदै लगेको जनाएको छ ।