काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि उल्लेख्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबारबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको भाउ बढाइएको हो।

नयाँ समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर २५/२५ रुपैयाँ थपिएको छ। त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ। आन्तरिक हवाई इन्धनमा पनि प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।

काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल २०७ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५७ रुपैयाँ निर्धारण गरिएको छ।

निगमका अनुसार पछिल्लो समय मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दो क्रममा रहेकाले मूल्य समायोजन गर्न बाध्य भएको हो। सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि निगमको घाटा कम हुन नसकेको जनाएको छ।

मूल्यवृद्धिपछि पनि निगमलाई प्रत्येक १५ दिनमा करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने दाबी गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको अस्थिरताका कारण सिर्जित अवस्थालाई ध्यानमा राख्दै निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ। FB_IMG_1775779100488