ललितपुर । ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि भएको छुरा प्रहार घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले घटनामा संलग्न ललितपुर महानगरपालिका–९ भोलढोका बस्ने ३२ वर्षीय सञ्जिव नेपाली (सञ्जु) र नवलपरासी गैँडाकोट–१ घर भई हाल ललितपुर–८ बस्ने २२ वर्षीय गगन सुनारलाई पक्राउ गरेको जनाएको छ । घटनामा प्रयोग भएको छुरा सहित उनीहरूलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार फोनमार्फत भएको सामान्य विवादले उग्र रूप लिँदा दुवै पक्षबीच मंगलबजारमा भेट हुने सहमति भएको थियो ।

भेटघाटका क्रममा सञ्जिव नेपालीले साथमा ल्याएको धारिलो छुराले सुमित नेम्वाङमाथि आक्रमण गरेका थिए । सुमितलाई बचाउन पुगेका उनका भाइ सृजनमाथि पनि घाँटी र पेटमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग गरिएको छुरा, फलामे नक, स्कुटर र दुई थान मोबाइल प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार चैत २५ गते बेलुका करिब ७ः३० बजे दुई पक्षबीच विवाद हुँदा कुटपिट तथा छुरा प्रहार भएको सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घाइतेहरूलाई उद्धार गरी ग्वार्कोस्थित बी एन्ड बी अस्पताल लगिएकोमा उपचारका क्रममा सोही राति करिब ८ः३० बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा झापा कमल गाउँपालिका–४ घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सृजन नेम्वाङ रहेका छन् ।