मुगु— इण्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ) मुगुले जिल्लामा शिक्षा, स्वास्थ्य, आयआर्जन, रोजगारी, विपद् तथा खानेपानीलगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ । यसैक्रममा संस्थाले आत्मनिर्भर बन्न चाहने पाँच जना बेरोजगार महिलालाई लक्षित गर्दै तीन महिने निःशुल्क सिलाई कटाई तालिम सञ्चालन गरेको छ ।

तालिम अन्तर्गत सहभागी महिलाहरूलाई सिलाई कटाईसँग सम्बन्धित सीप सिकाउनुका साथै सिलाई मेसिन, कपडा र आवश्यक उपकरण समेत प्रदान गरिएको संस्थाले जनाएको छ । छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँकी माया बडुवालले तालिमले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएको बताइन् ।

“पहिले सिलाई कटाई जातीय आधारमा हेर्ने चलन थियो, तर अहिले यसको महत्त्व बढेको छ,” उनले भनिन्, “तालिम सुरु गर्दा सामान्य कपडा काट्न पनि आउँदैनथ्यो, अहिले विभिन्न प्रकारका कपडा सिलाउन सक्ने भएकी छु ।” उनले चोला, भोटा, कुर्ता–सुरुवाल, म्याक्सी, पेटिकोटलगायत दर्जनौँ पोशाक बनाउन सिकेको बताउँदै अब यही सीपलाई व्यवसायमा रूपान्तरण गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।

त्यस्तै सहभागी रसमदेवी लावडले आर्थिक अभावका कारण पहिले सीप सिक्न नसकेको तर आईएनएफको सहयोगले अवसर पाएको बताइन् । “तीन महिनामा विभिन्न कपडा काट्न र सिलाउन सिक्यौं, अब सिकेको सीपलाई प्रयोग गरेर आत्मनिर्भर बन्नेछु,” उनले भनिन् ।

तालिमकी प्रशिक्षक रामबहादुर परिवारका अनुसार सुरुमा सहभागीहरूलाई सामान्य कपडा काट्न समेत कठिन थियो । “तर उनीहरूको मेहनत र लगनशीलताले छोटो समयमै धेरै प्रगति गरेका छन्,” उनले भने, “अब बजारको मागअनुसार नयाँ डिजाइन सिक्दै अगाडि बढ्नुपर्नेछ ।”

कार्यक्रममा जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जनबहादुर कार्कीले सहभागी महिलाहरूले छोटो समयमै राम्रो सीप हासिल गरेको भन्दै अब त्यसलाई व्यवहारमा उतारेर आयआर्जनमा जोडिन आग्रह गरे । यस्तै छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्य मल्लले आर्थिक अभावकै कारण महिलाहरू सीप सिक्नबाट वञ्चित हुने गरेको बताउँदै यस्ता कार्यक्रमले आत्मनिर्भरता बढाउने उल्लेख गरिन् । उनले आगामी दिनमा स्थानीय सरकारले थप सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

आईएनएफ मुगुका प्रमुख जुवारीलाल कार्कीका अनुसार उक्त तालिममा मेसिन, कपडा र अन्य सामग्री गरी प्रति व्यक्ति करिब एक लाख रुपैयाँका दरले जम्मा पाँच लाख रुपैयाँ खर्च गरिएको छ । “हामी नगद सहयोगभन्दा पनि सीपमार्फत आत्मनिर्भर बनाउनेमा केन्द्रित छौं,” उनले भने, “सिप सिकेर व्यवसायमा लागेका उदाहरणहरू पनि देखिएका छन ।”

संस्थाले हरेक वर्ष सिलाई कटाई, मिस्त्री, प्लम्बर, ड्राइभर, मोबाइल मर्मतजस्ता विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जनाएको छ । सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गरी आत्मनिर्भर बनेको देख्न पाए मात्र कार्यक्रम सफल हुने संस्थाको अपेक्षा रहेको छ ।