रौतहट— रौतहटको ‘गेटवे’ मानिने चन्द्रपुर नगरपालिकाको मुख्य चोक। जहाँ झन्डै एक दशकअघि एउटा आकर्षक पार्क निर्माण गरियो । उद्देश्य थियो-सहरको सौन्दर्य बढाउने र बटुवालाई थकाई मार्ने सुबिस्ता दिने । तर, उचित संरक्षण र नियमित सरसफाइको अभावमा अहिले यो पार्क चन्द्रपुरको पहिचान बन्नुको साटो कुरूप देखिन थालेको छ ।
वातावरण मैत्री स्थानीय शासन अन्तर्गत चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा वि.सं. २०७२ सालमा यो पार्कको निर्माण भएको हो । पार्कभित्र रहेका पानीका फोहोरा (फाउन्टेन), प्रतीक्षालय, राष्ट्रिय झन्डा, रङ्गीचङ्गी बोटबिरुवा, आकर्षक बत्ती र आराम गर्ने कुर्सीहरूले सुरुवाती दिनमा जो-कोहीको मन लोभ्याउने गथ्र्यो । पूर्व–पश्चिम राजमार्ग भएर हिँड्ने यात्रुहरू र स्थानीयका लागि यो फोटो खिच्ने र थकाई मार्ने मुख्य थलो बनेको थियो ।
तर, अहिले अवस्था फेरिएको छ । पार्कभित्रका रुख र बिरुवाका पातहरू झरेर जताततै फोहोर थुप्रिएको छ । गोडमेल नहुँदा झारले पार्कको सौन्दर्यलाई कुरूप बनाएको छ । सबैभन्दा दुःखको कुरा, लाखौँ खर्चेर बनाइएका पानीका फोहोरा र आकर्षक बत्तीहरू अहिले प्रयोगविहीन र जीर्ण अवस्थामा छन् । चर्को गर्मी र बर्खामा ओत लाग्ने प्रतीक्षालय र चौताराहरू पनि मर्मत नहुँदा उराठ लाग्दा देखिन्छन् ।
स्थानीय बासिन्दाहरू नगरपालिकाको यस्तो उदासीनताप्रति रुष्ट छन् । चन्द्रपुर नगरपालिका ४ का स्थानीय केदार कोइराला भन्छन्, “सुरुमा चर्चा कमाउनका लागि संरचना निर्माण गर्ने तर पछि त्यसको वास्ता नगर्ने प्रवृत्ति हाबी भयो। यत्रो लगानी गरेर बनाइएको संरचना यसरी अलपत्र छाड्नु सरासर लापरबाही हो । यसले चोकको मात्र होइन, सिङ्गो नगरकै छवि धुमिल बनाएको छ ।”
पार्कको यो दयनीय अवस्थाबारे वडा तहबाट पनि स्वीकारोक्ति आएको छ । चन्द्रपुर नगरपालिका ४ का वडा अध्यक्ष रवि राना मगरले विविध प्राविधिक र व्यवस्थापकीय कारणले गर्दा समयमै सरसफाइ र मर्मत हुन नसकेको स्वीकार गरेका छन् ।
उनले भने, “हामीले यसलाई प्राथमिकतामा राखेका छौँ, अब छिट्टै यसको मर्मत सम्भार र सरसफाइ गरेर पुरानै लयमा फर्काउने योजना छ ।”
कुनै पनि सार्वजनिक संरचना निर्माण गर्नु मात्र उपलब्धि होइन, त्यसको दिगो संरक्षण र व्यवस्थापन गर्नु स्थानीय सरकारको मुख्य जिम्मेवारी हो । मुख्य चोककै मुहार मानिने पार्क यसरी बेवारिसे बन्नुले नगरपालिकाको व्यवस्थापकीय क्षमतामाथि नै प्रश्न उठाएको छ । स्थानीयहरूले तत्काल विशेष अभियान चलाएर पार्कको सौन्दर्य फर्काउन माग गरेका छन् । यदि समयमै ध्यान नदिए यो संरचना पूर्ण रूपमा नष्ट हुने निश्चित छ ।




































